काठमाडौँ – आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा.तोसिमा कार्कीले आज सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्ने हुनुभएको हो ।
रास्वपाले आइतबार पत्रकार सम्मेलनमार्फत सरकारबाट बाहिरिने निर्णय गरेपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने भएको छ । नागरिकतासम्बन्धि विवादित मुद्दामा सांसद् पदसहित उपप्रधान तथा गृहमन्त्री पद गुमाउनुभएका सभापति रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरिसकेपछि पुनः गृहमा फर्कन प्रयास गरेपनि सफल हुनुभएन । सोही कारण रास्वपा सरकारबाट बाहिरिएको हो ।
सरकारबाट बाहिरिने निर्णय लगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर तीन जना मन्त्रीहरुले राजीनामा बुझाउनुभएको थियो ।