फाइल तस्वीर

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पत्रकारहरुलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपालको २५औँं स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले, ‘तपाईंहरुको कलम भ्रष्टाचार विरुद्धमा बमबार्ड हुन सक्ने गरी चलाउनुहोस्’ –भन्नुभयो ।

अहिले मुलुकको एउटै मुद्दा आर्थिक समृद्धिको भएको भन्दै उहाँले आर्थिक समृद्धिको बाटोमा लिएर जाने र गरिबीको अन्त्य गर्ने जिम्मेवारी आएको बताउनुभयो । देशलाई समृद्धिको बाटोमा हिँडाउन र गरिबी अन्त्यको बाधक बनेको भ्रष्टाचारको पर्खाल हटाउन जरुरी रहेको भन्दै उहाँले ‘भ्रष्टाचारको पर्खाल तोड्ने, मुलुकलाई सुशासन दिने बाटोमा अघि बढाएर लिएर जानुपर्ने छ’ विकास र समृद्धिका निम्ती उत्पादनका क्षेत्रमा विकास गरेर अघि बढ्नुपर्ने समय आएको छ’ भन्नुभयो । देशमा राजनीतिक रुपमा धेरै ठूला परिवर्तन भएको भन्दै मन्त्री गिरीले परिवर्तनअनुसार पत्रकारका कलम चल्नुपर्ने बताउनुभयो ।

परिवर्तनको पक्षमा हिम्मत र आँट गरेर कलम चलाउन पत्रकारलाई आग्रह गर्दै मन्त्री गिरीले पत्रकारले आफ्नो समाचारप्रति जवाफदेही हुँदै समाजलाई सुधारको बाटोमा लैजानुपर्ने बताउनुभयो । सरकारले गरेका काममा नियमित खबरदारी गर्दै सही बाटोमा हिँडाउने जिम्मेवारी पत्रकारमा रहेको उहाँको भनाइ छ । नेपालको पत्रकारिता क्षेत्रले छोटो समयमा धेरै प्रगति गरेको भन्दै यसलाई बचाइराख्न पत्रकारलाई आग्रह गर्नुभयो ।

सो अवसरमा डा. सारदा–तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार २०७९ बाट अग्रज पत्रकार विष्णु छिमेकीलाई पुरस्कृत गरिएको थियो । पुरस्कारको रकम रू २० हजार छिमेकीले प्रेस चौतारीको भवन निर्माणका लागि शाखा अध्यक्ष पण्डितलाई सोही कार्यक्रममा हस्तान्तरण गर्नुभयो ।