फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलहरूबीचको एकतालाई जोगाउने प्रयास गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो प्रतिक्रिया व्यक्त गर्नुभएको हो ।


राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रिमण्डलमा रहेका आफ्ना मन्त्रीहरुलाई आज राजीनामा दिन लगाएर सरकारबार बाहिरिने निर्णय गरेसँग प्रधानमन्त्री दाहालले एकतालाई जोगाउन प्रयास गर्ने बताउनु भएको छ।

आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले आफूले राष्ट्रिय सहमति नै गरेर अघि बढ्ने कुरा गरिरहेको भन्दै सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने पक्षमा आफू रहेको भनाइ राख्नु भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग पुनः छलफल गरी समस्या समाधान गर्न तत्काल पहल गर्ने प्रधानमन्त्रीले बताउनु भयो । सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही असहज भएको आफूले अनुभूत गरेको प्रधानमन्त्रीले प्रतिक्रिया व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिंदै ‘मैले उहाँहरूले गरेको पूरै निर्णय हेर्न पाएको छैन, भर्खरै सुनें । मैले बिहान उहाँसँग भएको कुराअनुसार सरकारलाई समर्थन फिर्ताचाहिँ होइन, मन्त्रीहरू बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो । फेरि हामी छलफल गर्छौँ, यसलाई हल गर्नेतिर नै जान्छौं’— भन्नुभएको छ ।