फाइल तस्वीर
काठमाडौं — प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश’ पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानका तर्फबाट खानेपानीमन्त्री अब्दुल खाँनले मन्त्रिपरिषद्बाट जारी भएको सो आदेश सदनमा पेस गर्नुभएको हो ।

आदेशमा आयोगको कार्यविधि म्याद आगामी असार मसान्तसम्म थप गर्ने विषय उल्लेख छ । आयोगको म्याद गत असोज मसान्तसम्म मात्र थियो । गत साउन २८ गते सरकारले आयोगको म्याद थप गर्ने निर्णय गरेको थियो ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेको जानकारी सदनलाई गराइएको छ । सांसदलाई पक्राउ परेका अवस्थामा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम (१) बमोजिम सदनलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।