फाइल तस्वीर
काठमाडौं — राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि भोलि सोमबार हुने निर्वाचनमा सत्तारूढ गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की नेता उर्मिला अर्यालले मनोनयन दर्ता गराउनु भएको छ ।

सत्तागठबन्धनबाट उम्मेदवार बन्नु भएकी अर्यालले आज दिउँसो १ बजेपछि सङ्घीय संसद् सचिवालयमा मनोनयन दर्ता गराउनु भएको हो । उपाध्यक्षकी उम्मेदवार अर्यालको प्रस्तावकमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहनुभएको छ ।

राष्ट्रियसभाको उपाध्यक्ष पद विगत एक वर्षदेखि रिक्त रहँदै आएको छ । सत्ता विपक्षी दलले उम्मेदवारी नदिने भए पछि सांसद अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुने सम्भावना देखिन्छ ।

आइतबार बिहान बसेको नेपाली काङग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सम्मिलित बैठकले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।