काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । आज शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिका लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरूसँग छलफलका लागि आफूहरू खुला रहेको उल्लेख गर्नुभयो ।

उहाँले आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल नभएको र सत्ता साझेदार दल नेकपा एमालेलाई आफूहरुले चिढ्याउन नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको बताउनुभयो ।

‘राष्ट्रपति निर्वाचनमा सहमति हुन सकेन भने जोसँग विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्छ, उसैसँग मिलेर अघि बढ्छौँ। सबै पक्षसँग हामी खुला छौँ। प्रधानमन्त्रीलाई सबै दलले समर्थन गरेको छ, सबै मिलेर जाऔँ भनेर अघि बढ्ने कुरा राम्रो हो,’ उहाँले भन्नुभयो, ‘गृहमन्त्रीको बारेमा केही कुरा भएन। नयाँ शिराबाट नयाँ ढङ्गले अघि बढ्ने छौँ । एमालेलाई बाहिर राखेर जाने भनेको होइन, सबैसँग मिलेर अघि बढौँ भन्ने हो ।’

त्यस्तै, पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले आजको बैठकमा आगामी दुई महिना सबै नेताहरु फिल्डमा नै गएर पार्टीको वस्तुस्थितिको बारेमा अध्ययन गर्ने निर्णय भएको बताउनुभयो । उहाँले पार्टी सङ्गठन सदृढीकरणका लागि दुई महिने सङ्गठन सुदृढीकरणको अभियान चलाउने बताउनुभएको हो । यस अभियानमा चुनावी अन्तर्घातका बारेमा पनि गहन अध्ययन गर्ने निर्णय भएको बताउनुभयो । उपाध्यक्ष महराले पार्टीसंग सुदृढीकरण अभियानमा सबै तहका कमिटीहरू परिचालन गर्ने र जनस्तरबाट नै राजनीतिक सुझाव लिने उल्लेख गर्नुभयो ।