फाइल तस्वीर
काठमाडौं — नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले संसदमा प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म इमानदारीपूर्वक निभाउनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको २१ औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको १४ औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नेक्रममा यस्तो धारणा राख्नु भएको हो ।

नेमकिपाका अध्यक्ष बिजुक्छेँले संसदमा प्रमुख प्रतिपक्षले आफ्नो धर्म इमानदारीपूर्वक निभाइरहेको छैन भन्नुभयो । अध्यक्ष बिजुक्छेँले ‘सत्ता पक्ष असफल भए छायाँ सरकारले सरकार सञ्चालन गर्नुपर्छ । त्यसको लागि प्रमुख प्रतिपक्ष सँधै तयार हुनुपर्छ’— भन्नुभयो ।

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले ख्वप सर्कलका शैक्षिक संस्था जनताको आशाको केन्द्रको रुपमा स्थापित भएको बताउनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उदारीकरणको नाउँमा शिक्षालाई निजीकरण गरिँदा गरिब जनताका छोराछोरीका लागि उच्च शिक्षा हासिल गर्नु चुनौतीपूर्ण बन्दै गइरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, त्रिवि इञ्जिनीयरिङ अध्ययन संस्थानका डीन प्रा. डा. शशिधरराम जोशी, पूर्वाञ्चल विश्वविद्यालय इञ्जिनीयरिङ सङ्कायका डीन प्रा. देवीप्रसाद भट्टराईलगायतले समुदायमा आधारित ख्वप इञ्जिनीयरिङ कलेजले देशको लागि आवश्यक दक्ष जनशक्ति तयार गरिरहेको बताउँदै कलेजको शैक्षिक र भौतिक अवस्था प्रशंसनीय भएको बताउनुभयो ।