फाइल तस्वीर
काठमाडौं — नेपाली काङ्ग्रेस संसद्को पहिलो पार्टी हुँदाहुँदै पनि प्रतिपक्षमा बस्न बाध्य भएको नेताहरुले दुखेसो व्यक्त गर्दै आएका छन् । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह के.सी.ले पार्टी नेतृत्वको कमजोरीका कारण पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताउनु भएको हो ।

शुक्रबार आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता के.सी.ले पार्टी नेतृत्वले सही निर्णय दिन नसक्दा काङग्रेस संसद्मा प्रतिपक्षमा बस्न बाध्य भएको उल्लेख गर्नुभयो । नेता के.सी.ले काङ्ग्रेसलाई अहिले सरकारमा जान कुनै हतार नभएको जिकिर गर्दै मुलुकमा देखिएका विभिन्न समस्या समाधानका लागि राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिनुभयो ।

नेता के.सी.ले प्रधानमन्त्री नेकपा माओवादी केन्द्र र सभामुख एमाले पार्टीको भइसकेको हुँदा अब राष्ट्रपति काङ्ग्रेसले पाउँदा बृहत शक्ति सन्तुलन हुने बताउनुभयो । सोही कार्यक्रममा बोल्दै गृह मन्त्रालयका विषयमा शक्ति र सत्तामा झगडा सुरु भइरहेको भन्दै वर्तमान सत्ता गठबन्धन धेरै समय नटिक्ने दावी समेत गर्नुभयो ।

गठबन्धनभित्र राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै गृहमन्त्रालय दिने सहमति हो भने उक्त पार्टीका कुनै सांसद्हरूलाई मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिंदै नेता के.सी.ले ठूला ठूला आदर्शका कुरा गरेर आएकाहरूले सत्ताका लागि झगडा गर्न सुहाउँदैन भन्नुभयो । नेता के.सी.ले देशको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।