स्वास्थ्यमन्त्री गिरी र नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, तस्वीर
काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच आज स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको हो ।
मन्त्री गिरी र राजदूत पोलिटबीच आज शुक्रबार मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिड भाइसरको सङ्क्रमणकालीन समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिनुभयो । उहाँले कोभिड–१९ महामारीको रोकथाम र नियन्त्रण कार्यमा बेलायत सरकारबाट प्राप्त सहायता सदैव स्मरणीय गरेको उल्लेख गर्नुभयो ।
‘कोरोना भाइरस जस्तो विपद्को घडीमा हाम्रो ऐतिहासिक सम्बन्ध भएको मित्र राष्ट्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दछौं’ भन्दै स्वास्थ्य मन्त्री गिरीले बेलायत सरकारको सहयोगमा भक्तपुर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको रेट्रोफिटिङ कार्य सञ्चालन भइरहेको उल्लेख गर्दै यस्तो सहयोगबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक भौतिक पूर्वाधार तयारी र नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्न अतुलनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री गिरीले आगामी दिनमा नेपालको सङ्घीय, प्रादेशिक र स्थानीय तहमार्फत् प्रदान गरिने स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना कार्यान्वयन गर्नका लागि आर्थिक एवं प्राविधिक सहायता निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत पोलिटले वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताउनुभयो । उहाँले भक्तपुर अस्पताल र पोखरा स्वास्थ्य प्रतिष्ठान भवनको रेट्रोफिटिङ कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । भेटवार्ताका अवसरमा राजदूत पोलिटले सन् २०२६ सम्ममा नेपाल विकसित देशका रूपमा अगाडि बढ्न सहयोग गर्ने वातावरण बनाउन बेलायतले नयाँनयाँ कार्यक्रम ल्याउने जानकारी गराउनु भएको थियो ।