प्रमुख निर्वाचन आयुक्त थपलिया । फाइल तस्वीर
काठमाडौं — निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन असल नियतले समयभित्रै सम्पन्न गर्ने गरी मिति घोषणा गरेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनको सन्दर्भमा यस्तो धारणा राख्नु भएको हो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘मिति तय नहुँदा पनि प्रश्न उठ्यो, मिति तय भएपछि पनि प्रश्न उठ्यो । त्यसकारण अब हामी तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्छौं । त्यसपछि प्रश्नचाहिं अन्त्य हुनेछ । तर एउटा के प्रण गर्नु जरुरी छ भने अब आयोगले कुनै पनि बखत त्यसरी निर्वाचनको मिति तोक्दा प्रश्नै नउठ्ने गरी हामी कानुनको संशोधन गरेर जाने तयारी गरिरहेका छौं’— भन्नुभएको छ ।
निर्वाचन मिति तोक्दा पनि र नतोक्दा पनि आफूहरुमाथि प्रश्न उठेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले निर्वाचन सम्पन्न भएपछि ती प्रश्न पनि अन्त्य हुने बताउनु भएको छ ।
आयोगले फागुन २५ गते राष्ट्रपति र उपराष्ट्रपति पदको लागि चैत ३ गते निर्वाचनको मिति तोकेको छ । तर राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्बन्धी ऐनमा कार्यकाल सकिनुभन्दा एक महिना अगाडि नै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको भन्दै आयुक्त ईश्वरी न्यौपानेले नै फरक मत राखेका छन् । संविधान र कानुनका बीचमा केही द्विविधाहरु कायमै रहेको र निर्वाचन आयोग ती द्विविधालाई सम्बोधन गर्दै अघि बढेको थपलियाको भनाइ छ ।