फाइल तस्वीर
काठमाडौं— बलात्कारको अभियोग लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै फर्काउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज शुक्रबार पहिलो सुनुवाइ हुँदैछ । सन्दीपलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने पाटन उच्च अदालतको आदेश बदरगर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको रिटको आज सुनुवाइ हुने भएको हो ।

एक बालिकामाथि बलात्कार गरेको अभियोगमा जेल सजाय भोग्दै आएका नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान सन्दीपलाई पाटन उच्च अदालतले धरौटीमा केहीदिन पहिले थुनामुक्त गरेको थियो । गत मङ्गलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयले बताएको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीका अनुसार सर्वोच्च अदालतमा आज शुक्रबार उक्त मुद्दाको पहिलो सुनुवाइ हुने भएको हो ।

केन्द्रीय कारागारमा तीन महिनादेखि बन्दिजीवन बिताइरहेका चर्चित क्रिकेटर सन्दीप उच्च अदालतको आदेशपछी रिहा भएपछि नेपाल क्रिकेट सङ्घ(क्यान)ले उनीमाथि लागेको निलम्बन फुकुवा गरेको थियो । क्यानले उनलाई पुनःनेपाली क्रिकेट मैदानमा ल्याउने निर्णय गरेसँगै हिजो बिहीबारदेखि उनी बन्द प्रशिक्षणमा सम्लग्न छन् । सन्दीप नेपाली राष्ट्रिय टिमको प्रशिक्षणका क्रममा हिजो त्रिभूवनविश्व विद्यालयको क्रिकेट मैदानमा अभ्यास खेलमा सहभागी भएको थिए ।

क्यानको पोखरामा तीन दिन अघि (बुधबार) भएको बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । क्यानको निलम्बन फुकुवाको निर्णयको तीन दिनमा आज शुक्रबार सर्वोच्चमा पहिलो सुनवाई हुन लागेको छ ।