फाइल तस्वीर
विराटनगर — नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद(केपी) शर्मा ओलीले लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्न निर्वाचन प्रणालीको विधिलाई सुधार गर्नुपर्ने औंल्याउनु भएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
देशमा राजनीतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताउँदै अध्यक्ष ओलीले संविधान संशोधन गर्ने दस्तावेज भए पनि यद्यपि, शासन प्रणालीमा सुधार गर्न अहिलेनै यो संशोधन गर्नुपर्ने बेला चाहिं नभएको स्पष्ट पार्नु भयो ।
अध्यक्ष ओलीले नेकपा एमालेको राष्ट्रपति पदमा उम्मेदवार हुनु भनेको सत्ता पक्ष र वर्तमान सत्ता समीकरणको उम्मेदवार भएको स्पष्ट पार्नुभयो । सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री पाउनुपर्ने तर त्यो पार्टीले कसलाई बनाउने उसको जिम्मेवारी रहेको भन्दै उहाँले यस विषयमा कुनै छलफल नभएको र सरकारबीच असमझदारी समेत नरहेको जिकिर गर्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा लोकतन्त्रका विरुद्ध चौतर्फी रुपमा षडयन्त्रहरु भैरहेको भन्दै त्यसतर्फ नेपाली जनता सजग र सचेत रहनसमेत आग्रह गर्नुभएको छ ।