काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले कोरोना भाइरस सङ्क्रमणका विरुद्धमा प्रयोग गरिने खोपको अतिरिक्त मात्र (बुस्टर डोज) तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ । स्वास्थ्य सेवा विभागको आज अनुगमनका क्रममा उहाँले खुला सिमानाका कारण नेपालमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिनसक्ने भन्दै बुस्टर डोजलाई छिटोभन्दा छिटो लगाउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।

“बुस्टर डोज लगाउन ढिला भइसक्यो । किन ढिला भयो,” मन्त्री गिरीले प्रतिप्रश्न गर्दै “आवश्यक कार्ययोजना बनाएर तत्काल बुस्टर डोज लगाउनका लागि प्रबन्ध गर्नुहोस् ।” भनेर आदेश दिनुभयो ।

मन्त्री गिरीले खरिद प्रक्रिया धेरै संवेदनशील विषय भएकाले शतप्रतिशत पारदर्शिता हुने गरी काम गर्न निर्देशन दिनुभयो । भोलिका दिनमा कतै खरिद प्रक्रियाका सन्दर्भमा प्रश्न उठे स्वयम् जवाफदेही हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले स्वास्थ्य संस्था सूचना प्रविधिमैत्री बनाउन आग्रह गर्दै बिरामीले घरबाटै कुन अस्पतालमा कति सघन उपचार कक्ष (आइसियु) शय्या खाली छ भनेर थाहा पाउनुपर्ने बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्ने गरी परिवर्तन ल्याउनु आवश्यक रहेको बताउनुभयो । “विभागले जति जनताप्रति उत्तरदायी भएर काम गर्छ त्यति नै जनताले स्वास्थ्य सेवा प्राप्त गर्न सक्छन्”, उहाँले भन्नुभयो । मन्त्री गिरीले विभागमा रहेका महाशाखाले आफूमा भएको कमिकमजोरी सुधार गर्दै सेवा प्रवाहलाई पारदर्शि र उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विभागबाट धेरै उपकरण अस्पतालमा पठाए पनि ती प्रयोग नभएको गुनासो आफूले सुन्ने गरेको भन्दै उपलब्ध उपकरणका बारेमा अवस्थाबुझि काम गर्न सम्बन्धित सबैलाई निर्देशन समेत दिनुभयो ।

विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले समग्र विभागको बारेमा जानकारी गराउनुभएको थियो । अनुगमनका क्रममा महाशाखाका निर्देशकले आफ्नो महाशाखाका दिने सेवाका बारेमा मन्त्री गिरीलाई जानकारी गराउनु भएका थियो ।