फाइल तस्वीर
काठमाडौं — सत्ता गठबन्धनको सदस्य दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक बस्दै छ । आज बिहीबार अपरान्ह ४ः३० बजे पार्टी कार्यालयमा उक्त दलको बैठक बस्न लागेको हो ।
पार्टीको केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठक एकैसाथ बस्ने रास्वपाले जनाएको छ । उक्त बैठकमा सरकारमा सामेल भएका मन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन पार्टीले निर्देशन दिएको छ ।
नेकपा माओवादी केन्द्रको नेतृत्वको सरकारमा सामेल भएको रास्वपाले हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय लिएको छ । उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा रहेका पार्टी सभापति रवि लामिछाने नागरिकता विवाद प्रकरणमा सर्वोच्च अदालतको फैसलासँगै पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका थिए ।
रास्वपाबाट यतिबेला तीनजना सरकारमा छन् । डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री छन् ।
नागरिकता प्रकरणमा सभापति रवि लामिछानेको सांसद् पद गुमेसँगै उपप्रधान तथा गृहमन्त्री पदबाट समेत राजीनामा दिनु परेको थियो । सभापति लामिछानेले आईतबार नेपालको नागरिकता लिएसँगै पुनः गृहमन्त्रालय आफुले पाउनु पर्ने दावी गर्दै आएका छन् ।
सभापति लामिछानेले आफूलाई नै गृह मन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दबाव दिइरहेका छन् । सभापति लामिछानेले यदि आफुलाई पहिलेको जिम्मेवारीमा नियुक्त नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने चेतावनी दिंदै आएका छन् ।
तर प्रधानमन्त्रीले नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सुनाएको फैसलाको पूर्णपाठ नआएको र राहदानीसम्बन्धी विवादको पनि टुङ्गो लागिनसकेको कारण गृह मन्त्रालय रास्वपालाई दिन नसक्ने प्रष्ट पारिसक्नु भएको छ ।
तर रास्वपाले सरकार निर्माणका क्रममा भएको सहमति अनुसार गृह मन्त्रालय आफूहरुलाई दिनुपर्ने अडान राख्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पनि रास्वपाकै पक्षमा देखिनु भएको छ ।
गृह मन्त्रालयमा लामिछानेबाहेक पार्टीकै अर्को व्यक्ति पठाउनुपर्ने रास्वपाका सांसदहरुकै भनाइ छ । आज अपरान्ह बस्ने पार्टीको बैठकमा यस विषयमा समेत छलफल हुने केन्द्रीय सदस्य दीपक बोहराले बताएका छन् ।
रास्वपा भित्रै द्वन्द्व सिर्जना भएको छ । सरकारमा सहभागी हुने र नहुने भन्नेमै विवाद देखिन थालेको छ । राजनीतिक वृत्तमा यही कारणले रास्वपा विभाजन हुने विश्लेषण पनि गर्न थालिएको छ । विभाजित रास्वपाको एक समूह एमालेमा जाने आङ्कलन पनि छ ।