फाइल तस्वीर
काठमाडौं — नेपाली काङ्ग्रेसले राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बिहीबार बिहान बसेको काङ्ग्रेस संसदीय दलको कार्य समितिको बैठकले राष्ट्रियसभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

राष्ट्रियसभाको रिक्त उपाध्यक्षका लागि माघ २३ गते सोमबार निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार उपाध्यक्ष पदको मनोनयन गर्दा आईतबार २२ गते हुँदैछ । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएसँगै उक्त पद झण्डै एक वर्षदेखि रिक्त रहँदै आएको थियो ।

नेपाली काङ्ग्रेस संसदीय दलका नेतासमेत रहनु भएका पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा आज बिहान बसेको संसदीय दलको कार्य समितिको बैठकले राष्ट्रियसभाको उपाध्यक्षका लागि अन्य दलसँग समेत सल्लाह गरेर व्यक्तिका बारेमा टुङ्गो लगाउने निर्णय गरेको सो दलका प्रमुख सचेतक रमेश लेखकले बताउनुभएको छ । आजको बैठकले काङ्ग्रेस संसदीय दलको बैठक माघ २६ गते बिहीबार बस्ने निर्णयसमेत गरेको छ ।