फाइल तस्वीर
चितवन — नारायणी नदीको उत्तरी भङ्गालोमा पानीको बहाव कम हुँदै गएकोप्रति संरक्षणकर्मीहरुले चिन्ता प्रकट गरेका छन् । यति बेला नारायणीको पानी अधिकांश भाग चितवनतर्फको दक्षिणी भङ्गालोबाट बग्न थालेपछि निकुञ्ज प्रवेश सहज भएको भन्दै संरक्षणकर्मीले चिन्ता र चासो व्यक्त गरेका हुन् ।

चितवनको नारायणघाटस्थित नारायणी नदीको पुलदेखि केही किलोमिटर तल शिख्रौलीघाटबाट नारायणी नदी दुई भङ्गालोमा बाँडिएर बगेको छ । नवलपुरतर्फ बग्ने भङ्गालोलाई उत्तरी र चितवनतर्फ बग्ने भङ्गालोलाई दक्षिणी भङ्गालो भन्ने गरिन्छ । नारायणी नदीमा पानीको बहाव कम हुँदै गएपछि नवलपुरतर्फ पर्ने चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा चुनौती बढ्ने भन्दै संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

चितवनतर्फ विकास निर्माण तथा नारायणीको तटबन्धका लागि सेतीदेवी सामुदायिक वन आसपास अत्यधिक मात्रामा नदी उत्खनन् गर्दा गहिरिएर नदीको बहाव दक्षिण भङ्गालोतर्फ सोझिएको छ । नवलपुरको तटीय क्षेत्र सुक्खा भएसँगै यस क्षेत्रबाट चोरी सिकार गर्नेलाई निकुञ्ज प्रवेश गर्न सहज हुने भएकाले निकुञ्जको सुरक्षामा चुनौती बढ्ने देखिएको संरक्षणकर्मी डिबी चौधरी बताउनुहुन्छ ।

संरक्षणकर्मी चौधरीले ‘पहिले पहिले पौडिएर नारायणी तर्नुपर्ने भएकाले चोरी सिकार गर्नेलाई त्यति सहज थिएन, यति बेला उत्तरी भङ्गालोमा पानीनै नभएपछि निकुञ्जमा प्रवेश सहज भएको छ, यसले निकुञ्जको सुरक्षा चुनौती बढ्ने देखिएको छ’, भन्नुहुँदै ‘पानी कम हुँदा वन्यजन्तुलाई मात्रै खतरा भएको छैन, जैविक विविधता र नदी आश्रित भएर जीविकोपार्जन गर्ने स्थानीयलाई समेत समस्या भएको छ’ भन्नुहुन्छ ।

नवलपुरको गैँडाकोट, देवचुली, कावासोती भएर बग्ने नारायाणीको उत्तरी भंंगालोमा पानीको बहाव कम हुँदा निकुञ्जका जनावार सहजै मानव बस्तीमा प्रवेश गर्ने क्रम बढको छ । यसले मानव र वन्यजन्तुबीच द्वन्द्व मात्रै बढने नभएर वन्यजन्तु संरक्षणमा गम्भीर असर पर्ने देखिएको लामीचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेल बताउनुहुन्छ । नदीले बनाएको बगर क्षेत्र लामो भएको र खुला क्षेत्रमा टाढा टाढासम्म वन्यजन्तु देख्न सकिने भएकाले तस्करलाई सहज भएको अध्यक्ष पौडेल बताउनुहुन्छ ।

विकास निर्माणका लागि नदी उत्खनन् गर्दा पानीको बहाव दक्षिणी भङ्गालोमा नारायणीको पानी निकै कम भएकाले जैविक विविधता मात्रै होइन निकुञ्जको सुरक्षामा चुनौती थपिएको भन्दै संरक्षणकर्मी विष्णु अधिकारी बहावलाई पूर्ववर्तीरुपमा फर्काउनुपर्ने बताउनुहुन्छ ।

‘शिख्रौलीदेखि अमलटारीघाटसम्म पानीको बहाव एकदमै कम छ, कतै हिँडेर पार गर्नसम्म सकिन्छ यसले निकुञ्जभित्र प्रवेश गर्ने जो कोहीलाई पनि सहज बनाएको मात्रै छैन निकुञ्जका वन्यजन्तु सहजरुपमा मानव बस्तीमा प्रवेश गर्ने गरेका छन्’ संरक्षणकर्मी अधिकारीे, ‘यसले मानव वन्यजन्तु द्वन्द्व मात्रै बढाउँदैन जैविक विविधता र निकुञ्जको सुरक्षाको विषय माग म्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।’

अघिल्लो सातामात्रै नवलपुरको मध्यबिन्दु नगरपालिका–२ सेहरीमा चोरी सिकारीका कारण दुई गैँडा मारिएपछि निकुञ्नको सुरक्षामा चुनौती थपिएको र चोरी सिकार गर्नेसमेत सक्रिय हुन लागेको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरिरहँदा उत्तरी भङ्गालोमा पानीको बहाव कम हुँदा आउने समस्याको विषयमा निकुञ्जले गम्भीरतापूर्वक अध्ययन गरिरहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो । पानीको बहाव पूर्ववर्ती रुपमा फर्काउनका लागि स्थानीय तह, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति तथा सरोकारवालासँग आवश्यक समन्वयलाई निकुञ्जले अगाडि बढाएको बताउनुहुन्छ — संरक्षण अधिकृत तिवारी।