फाइल तस्वीर
काठमाडौं — जारी प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले आत्मदाह सम्बन्धी घटनाको सम्बन्धमा अनुसन्धान र छानविन गर्न न्यायिक आयोग गठनको माग गरेका छन् । एकसाता अघि नयाँ बानेश्वरस्थित सङ्घीय संसद् नगिचै प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहको घटनालाई लिएर सांसद्हरुले बैठकमा विशेष समय लिएर बोल्नु भएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद् प्रकाश ज्वाला र जनता समाजवादी पार्टीका सांसद्ले आचार्यको आत्मदाहको घटनाका बारेमा छानविन गर्न न्यायिक आयोग गठनको माग गर्नुभयो ।

सांसद्हरुले आचार्यको आत्मदाहको विषयमा प्रतिनिधिसभा बैठकमा केही विशेष प्रस्ताव आउनुपर्नेमा सो हुन नसकेको भन्दै सांसद्हरुले आक्रोस व्यक्त गर्दै यसबारेमा संसद्ले कुनै चासो नदिनु दुःखद् भएको धारणा व्यक्त गर्नुभएको थियो ।

आजको बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीकी सांसद् रञ्जिता श्रेष्ठले निर्दोष थारु बन्दीका लागि आफ्ना पार्टीले निरन्तर आवाज उठाउँदै आएता पनि बन्दिजीवन विताइ रहेको थारुहरुको रिहाइ हुन नसकेको भन्दै दुःख गर्नुभयो ।

यसैगरी नेपाल मजदूर किसान पार्टीका सांसद् प्रेम सुवालले देशकै पुरानो र ठूलो अस्पतालको रुपमा कहलिएको वीर अस्पतालमा आइसियु शय्या नहुनु दुखको कुरा हो भन्दै उक्त अस्पतालमा आइसियु नभएर जनताले निजी अस्पतालमा चर्को मूल्य तिर्न बाध्य भएको भनेर सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । सांसद् सुवालले उक्त अस्पतालमा आइसियुको शय्या थप गर्न सरकारसँग आग्रह गर्नुभयो ।

आजैको बैठकमा बोल्दै स्वतन्त्र सांसद् प्रभु साहले कालोबजारी नियन्त्रण गर्ने, नापतौल हेर्ने र गुणस्तर कायम गर्ने निकाय भए पनि सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको टिप्पणी गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।