रसुवा — हिमाली क्षेत्रका गाउँमा बस सञ्चालन हुन थालेपछि यहाँका स्थानीयलाई लामो तथा छोटो दुरिको यात्रा सहज भएको छ । जिल्लाको लाङटाङ्बाहेक अन्य क्षेत्रका गाउँमा सडक निर्माण भइसकेकाले बस व्यावसायीले नियमित सेवा दिन थालेपछि जिल्लादेखि राजधानीसम्मको यात्रा सहज भएको स्थानीय बताउछन् ।

बस सञ्चालनमा आएपछि नियमित यात्रा गर्न, एम्बुलेन्स सेवा, खाध्यान्न ढुवानी, विकास निर्माणका लागि आवश्यक मेसिनरी ढुवानी लगायतका काममा सहज भएको स्थानीयको भनाइ छ ।

उत्तरी रसुवाको टिमुरे, थुमन, तातोपानी, थाम्बुचेत, गतलाङ, हाकुबेँसी, दक्षिणी क्षेत्रको डाडाँगाउँ, ठूलोगाउँ, मनिगाउँ, कर्मिडाँडा, जिवजिवे, अम्बावास, भोर्ले, यार्सा सरमथली, पाटीखर्कलगायतका स्थानमा नियमित बससेवा सञ्चालन भइरहेको नागरिक समाजले जनाएको छ ।

पूर्खाले भञ्ज्याङ चौतारीका गोरेटो तथा घोडेटो बाटोमा पैदलयात्रा गर्दथे तर अहिले सडक सञ्जाल विस्तार भएर बसबाट यात्रा गर्न थालेपछि दैनिकी सहज भएको स्थानीय बताउछन् ।

काठमाडौँबाट बिहान छुट्ने बस साझ ५ बजेभित्र जिल्लामा पुगिसक्ने स्थानीय चिरञ्जीवी पौडेलले बताउनुभयो । उहाँका अनुसार यातायातको सुविधाका कारण यहाँ प्रकृतिको अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढेको छ ।

भ्रमणका लागि डाँडागाउँ, ठूलोगाउँ, आम भन्ज्याङ, धैवुङ–घुम्तीबजार, हाकुबेँसी, तातोपानी, उत्तरी क्षेत्रको धुञ्चेलगायतका स्थान रहेका होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलले (निसान) ले जानकारी दिनुभयो ।