काठमाडौं — उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको बताइएको हो ।

भेटमा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाको विकास, प्रसारण र व्यापार आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै ऊर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री लिङ्देनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफूले काम गर्न चाहेको बताउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरीकाको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । विगत लामो समयदेखि अमेरिकाले नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गराउँदै राजदूत थम्पसनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ ।