काठमाडौं — सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र ऊर्जामन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँगको भेटवार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुट्नुभएको छ । नागरिकता विवादका कारण गृहमन्त्री तथा सांसद पद गुमाउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पसनःगृहमन्त्रालयमा दाबी गरिरहेकाबखत आज बिहान ऊर्जामन्त्री लिङ्देन र एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्डको वार्ता भएको थियो ।
मङ्गलबार साँझ मात्रै रविसँग बालकोटमा बसेर वार्ता गर्नुभएका ओली आज बुधबार बिहानै बालुवाटार पुग्नुभएको हो । त्यस्तै ऊर्जामन्त्रीसमेत रहनुभएका लिङ्देनले पनि प्रधानमन्त्री प्रचण्डसँग आज बिहान वार्ता गर्नुभएको थियो । दुई शीर्ष नेतासँगको भेटवार्तापछि प्रचण्डले अहिले बालुवाटारमै उपप्रधानमन्त्रीसमेत रहनुभएका पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गुरुङसँग बसेर आन्तरिक छलफल गर्नुभएको छ ।
यसअघि सत्ता गठबन्धनका नेताहरुबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो। नागरिकता प्रकरणमा सर्वोच्चको आदेशपछि सांसद पद गुमाउनुभएका लामिछानेले फेरि आफूलाई गृहमन्त्री नै बनाउनुपर्ने अडान लिनुभएको छ । तर प्रचण्ड रविविरुद्ध राहदानी विवाद कायमै रहेको र सर्वोच्चको फैसलाको पूर्णपाठ आउन बाँकी रहेकाले उहाँलाई गृहमा दोहो¥याउने मनसायमा हुनुहुन्न । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः आफूलाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ ।