काठमाडौं — अनावश्यक हर्न बजाउने ५२ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ जना चालक कारबाहीमा परेका हुन् ।

वि.सं. २०७४ साल वैशाख १ देखि नै काठमाडौं उपत्यकामा हर्न निषेध गरिएता पनि पछिल्लो समय हर्नको दुरुपयोग बढेकाले कारबाहीलाई तीव्रता दिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढेर हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा समेत कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढी पर्ने भएकाले अत्यावश्यक अवस्थाबाहेक हर्न नबजाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।