फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई नदिने बताउनु भएको छ । आज मङ्गलबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रष्ट धारणा राख्नु भएको हो ।

सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआइ रास्वपाका अध्यक्ष रवि लामिछानेलाई गृह मन्त्रालय दिन नमिल्ने प्रधानमन्त्रीको भनाइ थियो । गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रास्वपाका सभापतिसमेत रहनु भएका लामिछानेको नागरिकता अवैध रहेको फैसला सुनाएसँगै लामिछानेको सांसद पद खारेज भएको थियो ।

रास्वपाबाट उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी लिनुभएका लामिछानेले सर्वोच्च अदालतको फैसला भए लगतै मन्त्री र पार्टी सभापति पदबाट समेत राजीनामा दिनु भएको थियो ।

लामिछानेले आइतबार नेपाली नागरिकता पुनःप्राप्त गरेपछि पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिंदै प्रधामन्त्री प्रचण्ड र एमाले अध्यक्षलाई भेट्नु भएको छ । गृहमन्त्रालयका लागि सरकारमाथि निरन्तर दवाव दिंदै आउनु भएका लामिछानेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत गृह मन्त्रालयमा लैजान प्रधानमन्त्रीलाई दवाव दिनुभएको छ । प्रधानमन्त्री प्रचण्ड आज बिहान पनि भेटेर गृह मन्त्रालय माग्नुको साथै गृह मन्त्रालय नदिए आफुले सरकारलाई दिएको समर्थन फिर्ता गरी सरकारबाट बाहिरिने चेतावनी समेत दिनुभएको थियो । तर प्रधानमन्त्री भने लामिछानेलाई गृह मन्त्रालय दिने पक्ष नभएको पार्टी बैठकमा नै उजागर गर्नु भएको छ ।

यतिबेला गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैले राख्नुभएको छ । प्रधानमन्त्रीसँगको भेटपछि रास्वपा आन्तरिक छलफलमा जुटेको छ । प्रधानमन्त्रीले गृहमन्त्रालयको सट्टा अर्को कुनै मन्त्रालय दिन तयार भएको लामिछानेलाई बिहानको भेटमा बताउनु भएको थियो । तर रास्वपा गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिंदै आएको छ ।