फाइल तस्वीर
काठमाडौं — गृहमन्त्रालय आफूलाई दिनुपर्ने अडानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ कुरिरहेको जनाएको छ । प्रधानमन्त्रीको जवाफ आएपछि पार्टीको बैठक बस्ने र गृहमन्त्रालय नपाए रास्वपाले आजै साँझसम्म सरकार छोड्ने घोषणा गरेको हो ।
रास्वपा प्रवक्ता डा. मुकल ढकालले ‘हामी प्रधानमन्त्रीको जवाफ कुरिरहेका छौँ,’ ‘आजै उहाँको सकारात्मक जवाफ आए पार्टीभित्र गृहमन्त्री कसलाई बनाउने छलफल गर्न बैठक बस्छ र नाम पठाउँछौं । प्रधानमन्त्रीले दिन्नौँ भने त्यसपछि के गर्ने निर्णय गर्न बैठक बस्छ’— भन्नुभयो ।
आज मङ्गलबार बिहान पार्टी सभापति रवि लामिछानेले रास्वपाको भागमा परेको गृह मन्त्रालयमा पुनः जिम्मेवारी दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले ठोस जवाफ नदिइ सत्ता साझेदार दलमा छलफल गर्नुपर्ने जवाफ दिएपछि सभापति लामिछानेले आज साँझसम्म निर्णय गर्न समयसीमा दिनुभएको हो ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्रालयबारे ठोस निर्णय लिने जिम्मा प्रचण्डलाई नै दिएको बताएको छ । तर माओवादीका अधिकांश नेताहरु देशको आन्तरिक सुरक्षाको जिम्मेवारी बोकेको गृह आफैं राख्नुपर्ने पक्षमा रहेका छन् ।
यता गृहमन्त्रालयबारे रवि नियमित एमाले अध्यक्ष केपी ओलीको सम्पर्कमा रहेको ओली निकट स्रोतले बताएको छ । स्रोतका अनुसार अध्यक्ष ओलीले गृह रास्वपाको भागमा परेकाले उसैलाई दिनुपर्ने र गृहमा कसलाई पठाउने भन्ने कुरा रास्वपाले निर्णय गर्ने अधिकार भएको बताउनुभएको छ ।
आफूसँगको भेटमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक नदेखिएको भन्दै दबाब बढाउन रास्वपाका सभापतिले एमालेको सहयोग मागेको र ओलीले आफू रास्वपाकै पक्षमा रहेको जवाफ दिएपछि सभापति लामिछाने आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।
संवैधानिक इजलासको फैसलाको पूर्णपाठ नआएको र दोहोरो राहदानी प्रयोग लगायतका विषय अझै अनुसन्धानमै रहेकोले प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय आफैसँग राखेर अन्य मन्त्रालय दिने मनस्थितिमा हुनुहुन्छ । तर रास्वपाले भने गृह नछाड्ने र गृह मन्त्रालय नपाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी समेत दिएको छ ।
नागरिकता विवादमा मुछिनु भएका रास्वपाका सभापति लामिछानेले सांसद् र गृहमन्त्रीको पद सर्वोच्चको फैसला पछि त्याग्नु भएको थियो । सर्वोच्चको उक्त फैसलाको पूर्ण पाठ भने आउन अझै बाँकी रहेको हुँदा प्रधानमन्त्रीले गृहको जिम्मेवारी आफुसँगै राख्नु भएको हो । रास्वपाका सभापति लामिछानेको राहदानीको बारेमा अझै अनुसन्धान भैरहेको छ ।
दोहोरो नागरिकता प्रयोग गरेको दोहोरो राहदानी बनाइ प्रयोग गरेको प्रमाण अनुसन्धानबाट पुष्टि भइसकेको छ । सो आरोपमा मुद्दा प्रक्रियामा गएको अवस्थामा सभापति लामिछानेको राजनीति कानुनतः अयोग्य हुने कानून व्यवसायीहरु बताउँछन् । यो प्रकरणलाई ओझेलमा पार्न पनि रास्वपाले गृहको दावेदारीलाई छोड्न नचाहेको राजनीतिक वृत्तमा एक खालको चर्चा भैरहेको छ ।