काठमडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन भएपछि उहाँ प्रचण्डलाई भेट्न आज दोस्रो पटक बालुवाटार पुग्नुभएको हो ।
प्रधानमन्त्रीसँगको भेटमा सभापति लामिछानेले आफूलाई गृह मन्त्रालयमा फर्काउन आग्रह गरेको बुझिएको छ । तर, प्रचण्डले भने लामिछानेलाई गृह मन्त्रीमा फर्काउन सकारात्मक जवाफ नदिएको स्रोतले बताएको छ ।
’प्रधानमन्त्रीले रविजीको विषयमा महान्यायाधिवक्ता, कानुनविद्हरुसँग परामर्श गर्नुभयो नागरिकताको केश सुल्झिए पनि पासपोर्टको केशले गाह्रो बनाउँछ । यस्तो अवस्थामा उहाँलाई गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउँदा सरकारलाई र रविजीलाई समेत राम्रो गर्दैन भन्ने बुझाइ छ’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, प्रधानमन्त्रीज्यू उहाँको सबै विषय नसुल्झिएसम्म फर्काउन सकारात्मक हुनुहुन्न । उहाँ भने पुरानै जिम्मेवारीमा फर्किन आतुर देखिनुहुन्छ ।’
गृहमन्त्रीबाट लामिछाने हटेपछि प्रचण्डले नै सो मन्त्रालय सम्हालिरहनुभएको छ । यता, राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय कुनै हालतमा नछाड्ने अडान राख्दै आएको छ । गृहमन्त्रालयमा पुनः आफ्नो पार्टीको दाबी रहेको भन्दै सरकारबाट बाहिरिने चेतावनी समेत दिएको छ । लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत समेत गृहमन्त्रीमा फर्काउन लागि प्रधानमन्त्रीलाई दवाव दिएको बताइएको छ ।