काठमाडौं — सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आज सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरुको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि स्थायी समिति बैठक माघ १८ का लागि बोलाउने निर्णय भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

पार्टीको सङ्गठनसम्बन्धी गृहकार्य नसकिएकाले भोलि मङ्गलबार पनि पदाधिकारी बैठक बस्ने र आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सिका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष महराले बताउनुभयो । माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो ।

उहाँले भन्नुभयो, ‘हामीले आज पदाधिकारीको बैठक बस्ने हिजो र अस्ती होमवर्क गरेको कुरालाई यहाँ टुङ्गो लगाएर भोली स्थायी समिति बैठक बस्ने सेड्युल थियो । आज पनि छलफल चल्यो । यो होमवर्क अझै टुङ्गिएको छैन । त्यसकारण आज र भोली होमवर्क गर्ने पर्सी स्थायी कमिटी बैठक बस्ने भन्ने भयो भन्ने निर्णय भयो । यति मात्रै हो आज । पदाधिकारी बैठक त्यही होमवर्ककै विषयमा हो । आज सङ्गठन सम्बन्धि विषयमा पनि मात्रै छलफल भयो । त्यो टुङ्गिएको छैन ।’

आज बसेको पदाधिकारी बैठकले सो विषयमा टुङ्गो लगाउन नसक्ने भएपछि भोली बोलाइएको स्थायी समिति बैठक पर्सीसम्मका लागि स्थगित गरिएको हो । बैठकमा गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नभएको पनि उपाध्यक्ष महराले बताउनुभयो ।