प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, फाइल तस्वीर


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको सपना पूरा गर्न आह्वान गर्नु भएको छ । सहिद दिवसका अवसरमा आज सोमबार प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमार्फत् सहिदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्न आग्रह गर्नुभएको हो ।


सहिद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै सहिदका सपना पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्र्नुभएको छ ।

प्रधानमन्त्रीले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धता गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले ‘सहिदहरूले देखाएको बाटोमा शब्दमा मात्र होइन, कर्ममा समेत अनवरत रूपमा लामबद्ध हुन, उहाँहरूको त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने संकल्प गर्न म आम जनसमुदायमा हार्दिक अपिल गर्दछु’ भन्ने कुरा शुभकामना सन्देमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध र समुन्नत बनाउन सहिदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुनेछ भन्ने विश्वास व्यक्त गर्दै सहिद दिवसको ऐतिहासिक दिनले देश र जनताको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासहित सहिदको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न सबैमा आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा ‘तानाशाही र निरङ्कुश व्यवस्थाका विरूद्ध सङ्घर्षका क्रममा उच्च बलिदानी गर्नुहुने महान् सहिदहरुको बलिदानी भएको दिनलाई हामीले शहीद दिवसका रूपमा स्मरण गर्दै आएका छौँ, आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो’ – उल्लेख गर्नुभएको छ ।


प्रधानमन्त्री दाहालले परिवर्तनका पक्षमा भएका सम्पूर्ण आन्दोलनमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरुको स्मरणसहित उच्च सम्मान व्यक्त गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले आन्दोलनका क्रममा घाइते भएका योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना समेत गर्नुभएको छ ।


‘राणाकाल सुरु हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकाल विरूद्धका चरणबद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, १० वर्षे जनयुद्ध, मधेस आन्दोलन लगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत् नेपालले जे–जति उपलब्धि प्राप्त गरेको छ, ती महान् सहिदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको हो’— प्रधानमन्त्रीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

सहिदहरूको बलिदानको उच्च सम्मानका साथ उनीहरूको सपनालाई साकार पार्ने कार्यमासबै आ–आफ्नो ठाउँबाट निरन्तर प्रयत्नशील रहनु आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभएको छ ।