नेपालगञ्ज — बाँकेको खजुरा गाउँपालिकामा रहेको एक हजार ८०० मिटर नेपालगञ्ज–गुलरिया सडक ठेक्का लिएको पाँच वर्षसम्म पनि पूरा हुनसकेको छैन । विसं २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाखमा चार लेन सडक निर्माणको जिम्मा पाएको हो ।
ठेकेदार कम्पनीले समयमै काम गर्न नसक्दा आफूहरुले दुःख पाएको स्थानीयको भनाइ छ । सम्झौता अनुसार कम्पनीले जिल्लाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको चार लेन सडक निर्माण गर्नुपर्ने थियो ।
कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाए पनि अझै सडक अपूरो छ । विभिन्न बहानामा पटक–पटक म्याद थपिए पनि निर्माण अझैसम्म पूरा हुन नसकेको स्थानीय सतिश निरौलाको भनाइ छ । सडक निर्माणको माग गर्दैै स्थानीयले पटकपटक आन्दोलन गर्दै आएका छन् ।
सडक डिभिजन कार्यालय नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर जनकबहादुर धामील निर्माण ढिलाइ भए पनि ९० प्रतिशत काम पूरा भएको दाबी गर्नुभयो । उहाँले यो वर्षसम्म पनि काम पूरा नभए ठेकेदार कम्पनीलाई कारबाहीस्वरुप कालोसूचीमा राखिने बताउनुभयो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सम्बन्धित निकायमा ताकेता गरे पनि काम हुन नसकेको बताउनुभयो । सडक अलपत्र पार्ने ठेकेदारलाई लुम्बिनी प्रदेश सरकारका विना विभागीय मन्त्री कृष्णा केसीले तत्काल निर्माण पूरा गर्न निर्देशन दिनुभएको छ ।