रुकुम(पूर्व) — रुकुम(पूर्व) को सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित बतासे डाँडामा हेलिप्याडमा सोलार बत्ती जडान गरिएको छ । बत्ती जडान गरिएपछि अब रातिको समयमा पनि यहाँ सहजै हेलिकप्टर अवतरण गर्न सकिने भएको हो ।

यसअघि सिस्ने हेलिप्याडमा बत्ती अभावका कारण दिनमा मात्र हेलिकप्टर अवतरण गरिँदै आएको थियो । आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय सरकारको १० लाख लागतमा हेलिप्याड निर्माण गरिएको हो । बत्ती जडान भने सिस्नेले आफ्नै लगानीमा गरेको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो ।

नेपाली सेनाले निर्माण गरेको उक्त हेलिप्याडमा सेनाकै प्राविधिक सहयोगमा बत्ती जडान गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले बत्ती जडान गर्न दुई लाख २५ हजार खर्च गरेको छ । बत्ती जडानपछि शनिबार पालिकालाई हेलिप्याड हस्तान्तरण गरिएको निर्माणमा संलग्न नरसिंह दलगणका गणपति प्रमोदकुमार शर्माले जानकारी दिनुभयो ।

हेलिप्याडमा बत्ती जडानपछि अब गम्भीर बिरामी, सुत्केरीलगायतलाई रातिको समयमा पनि हेलिकप्टरमा उद्धार गर्न सकिने छ ।