फाइल तस्वीर
रुकुमपूर्व — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१ पातिहाल्ने–लुकुम खण्डको कालोपत्र गर्ने काम अलपत्र परेको छ । सडक कालोपत्र गर्ने जिम्मा पाएको सिद्धिशाही प्रकाश कन्स्ट्रक्सन प्रा.लि. काम छोडेर सम्पर्कविहीन भएपछि उक्त खण्डको काम अलपत्र अवस्थामा पुगेको हो ।

आर्थिक वर्ष २०७२/७३ मा कालोपत्र तयारी कामका लागि लागेको ठेक्का पछिल्लो डेढ वर्षदेखि अलपत्र अवस्थामा छ । कालोपत्रका लागि ठेक्का पाएको निर्माण व्यवसाय डेढ वर्षदेखि सम्पर्कविहीन बन्दा यस खण्डको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जीनियर हुमनाथ पौडेलले जानकारी दिनुभयो । यस खण्डमा कालोपत्रका लागि ३८ करोड रुपैयाँको हाराहारीमा बजेट विनियोजन भएको थियो ।

उक्त बजेटबाट हालसम्म ३० करोड रुपैयाँको हाराहारी काम भएको इञ्जीनियर पौडेलको भनाइ छ । ३० करोड रुपैयाँ बजेट खर्चहुँदा ८२ प्रतिशत काम भएको र कालोपत्रका लागि ग्राभेल, नाली कटिङ, ग्यावियन तथा जाली हाल्ने काम अन्तिम चरणमा रहेको इञ्जीनियर पौडेलले बताउनुभयो ।

कामको जिम्मा पाएको ठेकेदार सम्पर्कविहीन भएपछि मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखले ठेक्का तोड्न सूचना प्रकाशन गरेको थियो । उक्त सूचना प्रकाशन भएपछि सिद्धिशाहीका ठेक्का साझेदारी निर्माण व्यवसाय खिन्टी महादेव कन्स्ट्रक्सन सम्पर्कमा आएको इञ्जीनियर पौडेलले जानकारी दिनुभयो । समयमै काम सम्पन्न गर्न नसकेपछि विभिन्न मितिमा तीनपटकसम्म म्याद थप गरिसकिएको छ । अहिले चौथोपटक आउँदो असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।

काम अलपत्रमा पारी काम गर्न जिम्मा पाएको निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि खिन्टी महादेव कन्स्ट्रक्सन काम गर्न सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिनुभयो । खिन्टी महादेव कन्स्ट्रक्सनलाई स्थानीयवासीले तत्कालै काम नगर्न अनुरोध गरेका थिए । यसअघि काम गरेका मजदुरलाई सिद्धिशाहीले ज्यालासमेत नदिएको स्थानीय मजदुरले बताएका छन् । मजदुरले काम गरेवापतको पैसा नपाउनु दुःखद् भएको प्रजिअ सुनुवारले बताउनुभयो ।

मध्यपहाडी राजमार्गको रुकुमपूर्व खण्डको अधिकांश क्षेत्रमा कालोपत्र भइसकेको छ । पातीहाल्ने–लुकुम खण्डमा कालोपत्र नहुँदा खोलाको पानीले सडक चिराचिरा पारेर यातायातका साधनलाई आवागमनमा असहज भइरहेको छ ।