फाइल तस्वीर
काठमाडौं — गृहमन्त्रालयको जिम्मेवारीमा रहनुभएका उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ आज हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा माघ ११ गते उक्त मुद्दाको सुनुवाइ गर्दागर्दै समय अभावले पूरा हुन नसकेको सुनुवाइ आजका लागि राखिएको हो ।
नागरिकतासम्बन्धी विवादको अन्तिम सुनुवाइ भएकाले हेर्दाहेर्दैमा राखिएको हो । उक्त मुद्दामा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने जनाइएको छ ।
सर्वोच्चले दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेश गरेको कागजात, सो सम्बन्धमा भएको कारवाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन आदेश दिएको थियो । सर्वोच्चको आदेशअनुसार सबै कागजात र विवरण अदालतसमक्ष आइसकेको बताइएको छ ।
नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद् बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग गर्दै कानून व्यवसायीहरु रविराज बसौला, युवराज पौडेललगायतल सर्वोच्च अदालतमा रिट निवेदन दायार गर्नुभएको थियो ।