काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को भातृ सङ्गठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनता प्रतिकुलमा भएको भन्दै उक्त सङ्गठनले प्रदर्शनी मार्गस्थित रत्न राज्य (आरआर) क्याम्पस अगाडि पुत्ला दहन गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्री बन्नुभएका खनालले आफ्नो पहिलो निर्णय नै कक्षा १ देखि ५ कक्षासम्मको पाठ्यपुस्तक छपाउन निजी क्षेत्रलाई दिने निर्णय गर्नुभएको थियो । निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर कमिशन खान शिक्षामन्त्रीले यस्तो निर्णय गरेको विद्यार्थीहरुको आरोप छ । यो निर्णयले झनै विद्यार्थीहरुलाई महँगो मूल्यमा पुस्तक किन्न बाध्य पार्ने खेल शिक्षामन्त्रीबाट भएको अनेरास्ववियूले जनाएको छ ।

सडक आन्दोलनमा उत्रिएका अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामग्रीमा भएको अनियमितता हटाउनु पर्नेमा शिक्षामन्त्री आफैं कमिशन खानका लागि निजी क्षेत्रलाई पुस्तक छपाउन दिनु गैह्रकानुनी कार्य हो भन्नुभएको छ । विद्यार्थी नेता पराजुलीले सरकार बनेको छोटो समयमै गलत निर्णय भएको भन्दै त्यसलाई आफूहरुले स्वीकार गर्न नसक्ने भन्दै चेतावनी दिनुभएको छ ।

अनेरास्ववियूले जनक शिक्षा सामग्री केन्द्र सरकारी स्वामित्वको संस्था भएकोले उक्त केन्द्रलाई बलियो, सशक्त र गरिब जनताका छोराछोरीको हातमा समयमै पुस्तक पुग्नेगरी सरकारले काम गर्नु पर्नेमा जोड दिनुभएको छ ।