प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली, तस्वीरः प्रधानमन्त्रीको सचिवालय
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री दाहाललाई भेट्न आज बिहीबार एमाले अध्यक्ष ओली बालुवाटार पुग्नु भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
प्रधामन्त्री र एमाले अध्यक्ष ओलीबीच आगामी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त सिटको उपनिर्वाचन लगायत देशको समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिमा एमालेले दावी गर्दै आएको छ । सरकारलाई विश्वासको मत दिएको नेपाली काङ्ग्रेसले पनि आफ्नो पार्टीलाई राष्ट्रपति दिनुपर्ने भन्दै आएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रपतिका लागि जो भएपछि राष्ट्रिय सहमति जुटाएर जानुपर्ने भन्दै आउनु भएको छ ।