फाइल तस्वीर
नेपालगञ्ज – नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कानुनी शासन र संविधानको रक्षाका लागि आफ्नो पार्टीलाई राष्ट्रपति दिनुपर्ने जिकिर गर्नुभएको छ । प्रवक्ता डा. महतले आज बिहीबार नेपालगञ्जमा पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै यस्तो धारणा राख्नु भएको हो ।

पत्रकारहरुको प्रश्नको जवाफ दिंदै काङ्ग्रेस नेता डा.महतले राष्ट्रपति दलभित्रबाट नै हुने र राष्ट्रपति भइसकेपछि दलभन्दा माथि उठेर संविधानको पक्षमा काम गर्ने व्यक्तिलाई छानिने दावी गर्नुभयो । काङ्ग्रेस प्रवक्ता महतले ‘राजनीतिक दलभन्दा बाहिरबाट राष्ट्रपति हुने सम्भावना छैन’– भन्नुभयो ।

पत्रकारले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रपति हुने भन्ने कुरामा कत्तिको सत्यता छ भन्ने प्रश्नको जवाफमा काङ्ग्रेस प्रवक्ता महतले यो कुरा कुनै सम्भावना नरहेको भन्दै राजनीतिक दल बाहिरबाट राष्ट्रपति हुने कुनै सम्भावना नरहेको समेत बताउनु भयो । काङ्ग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेललगायत राष्ट्रपतिको आकांक्षी रहेको खुलासा समेत गर्नुभयो ।