फाइल तस्वीर
काठमाडौं – पृथ्वी राजमार्गको बहुप्रतिक्षित नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माणको काम अवरुद्ध हुन पुगेको छ । गृह मन्त्रालयले अवैध क्रसर उद्योगहरु बन्द गर्ने भनेसँगै क्रसर उद्योग व्यावसायीहरुले ढुवानी नै बन्द गरेपछि सुरुङ मार्ग निर्माण काम नै रोकिएको हो ।

नौबिसे–नागढुङ्गा सुरुङमार्गका आयोजना प्रमुख माधवप्रसाद अधिकारीका अनुसार सरकारले अवैध क्रसर उद्योगहरु बन्द गर्न आग्रह गरेसँगै टनेलको काम नै रोकिएको छ ।

सुरुङमार्गको सडक ढलान गर्नका लागि चाहिने रोडा, गिट्टी, बालुवाको अभाव भएपछि काम रोकिएको आयोजनाको भनाइ छ । आयोजना प्रमुख अधिकारीले क्रसर उद्योगहरु बन्द भएपछि ढलान गर्नुपर्ने सबै कामहरु अवरुद्ध हुन पुगेको बताउनु भयो । यो सँगै सुरुङमार्गको टनेल खन्ने मुख्य कामसमेत रोकिएको आयोजनाको भनाइ छ ।

आयोजनाले सरकारी मापदण्ड पूरा गरेका क्रसर उद्योगबाट गिट्टी बालुवा ल्याउने गरेकोमा क्रसर उद्योगहरु नै बन्द गरेका कारण सुरुङमार्गलाई चाहिने सामानको अभाव भएको आयोजना प्रमुख अधिकारीले जानकारी गराउनु भयो । सुरुङमार्गको काम दैनिक दुई सिफ्टमा काम हुने गरेको थियो ।

एकातिर सुरुङमार्गलाई आवश्यक पर्ने गिट्टी बालुवाको अभावले सडक निर्माणको काम ढिलाई हुन पुगेको छ भने अर्कोतर्फ काम नै रोकिए पछि ठेकेदार कम्पनीले सरकारसँग क्षतिपूर्ति दावी गर्न सक्ने र आयोजनाको लागत बृद्धि हुन सक्ने आयोजनाको विश्लेषण छ । यद्यपि, अहिले गिट्टी, बालुवा प्रयोग हुने कामबाहेर फ्लाइ–ओभर र अन्य कामहरु भने नरोकिएको आयोजना प्रमुख अधिकारी बताउनु हुुन्छ ।

सरकारले क्रसर उद्योगलाई थप नियमन गर्ने निर्णय समेत गरेको छ । अनुमति नलिइ सञ्चालितमा रहेका सबै क्रसर उद्योग बन्द गरेर नियमन गर्ने मन्त्रिपरिषद्को बैठकले गरेको छ । क्रसर उद्योगहरुलाई सरकारले तोकेको मापदण्ड पूरा गर्न छ महिना अर्थात् २०८० असार मसान्तसम्मको समय सीमा तोकेको छ । गृह मन्त्रालयले पुस २० गते जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै अवैध उद्योगहरु बन्द गर्न आग्रह गरेको थियो । जसअनुसार ७०० बढी क्रसर उद्योगहरु बन्द भएका छन् ।

नौविसे–नागढुङ्गा सुरुङ्मार्गको निर्माण कार्य सकिन तोकिएको समय करिब पाँच महिना मात्र बाँकी छ । अहिलेसम्म सुरुङ्मार्ग निर्माणको काम आधापनि सकिएको छैन । आयोजना २०८० साल जेठ महिनासम्ममा निर्माण भैसक्नु पर्ने हुन्छ । जबकी भौतिक संरचनातर्फ ४६ दशमलव ६ प्रतिशतमात्रै काम भएको छ भने वित्तीयतर्फ ४८ दशमलव ८३ प्रतिशत खर्च भएको बताइन्छ ।

यो सुरुङमार्ग निर्माणको जिम्मा जापानको हाज्मा (आन्द्रो जेभी) कम्पनीले लिएको हो । निर्धारित समयमा काम नसकिने भएपछि आयोजनामा सरकारसँग समय थपको लागि पत्राचार समेत गरिसकेको छ ।

आयोजनाअन्तर्गत सुरुङ निर्माणको काम भने ७० प्रतिशत सकिसकेको छ । कुल दुई हजार ६८८ मिटर लम्बाई हुने मुख्य टनेल पूर्व र पश्चिमतर्फ गरेर कुल एक हजार ७११ मिटर खनिसकिएको छ । दुई हजार ५७७ मिटर इमर्जेन्सी टनेलमध्ये एक हजार ९४८ मिटर खनिसकिएको आयोजनाले जनाएको छ । दुवै सुरुङलाई जोड्ने १२८ मिटरमध्ये ७४ दशमलव २ मिटर बाटो खनिसकिएको छ ।

जापान सरकारको करिब १६ अर्ब सहुलियत ऋण र नेपालको सरकारको ६ अर्ब गरेर कुल २२ अर्ब लागत अनुमानमा सुरुङमार्ग निर्माण भइरहेको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गर्नुभएको सो सुरुङमार्ग बनेपछि सवारी आवज जावतमा सहज हुनेछ ।