दाङ – लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्यको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीलेका अनुसार सत्तागठबन्धनबाट नेकपा (एमाले)का कुमार दसौँदी, नेपाली काङग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराउनुभएको हो । यद्यपि, नागरिक उन्मुक्ति पार्टी सत्तापक्ष गठबन्धनमै रहे तापनि उसले छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।

सत्तागठबन्धनका उम्मेदवार रोल्पाका दसौदी एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ । नेपाली काङ्ग्रेसबाट उम्मेदवार बन्नु भएका आचार्य पनि रोल्पा जिल्लाकै पूर्वजिल्ला सभापति हुनुहुन्छ । चार दशकदेखि नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय आचार्य पार्टीमा महासमिति सदस्य समेत हुनुहुन्छ ।

एमालेका नेता खिमलाल भट्टराईले गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि पार्टीले नाम सिफारिस गरेकाले राष्ट्रियसभा सदस्यमा रहनुभएका भट्टराईले उक्त पदबाट राजीनामा दिनुभएपछि खाली हुन भएको सिटमा उपनिर्वाचन हुन लागेको हो । एमाले नेता भट्टराईलाई पछि पार्टीले नै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाएन ।

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि माघको २५ गते निर्वाचन हुने कार्यक्रम छ । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् ।

लुम्बिनी प्रदेशमा कूल मतदाता सङ्ख्या तीन सय पाँच छ । जसमध्ये प्रदेश सांसद्को सङ्ख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको सङ्ख्या दुई सय १८ रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । प्रदेशका एक सय नौ पालिकामध्ये काङ्ग्रेसले ४८ पालिकामा जितेको छ ।

त्यसैगरी एमालेले २७, माओवादीले २५, जसपाले तीन, जनमोर्चा र लोसपाले दुई÷दुई, राप्रपा र जनता प्रगतिशीलले एक÷एक स्थानमा जितेका छन् । त्यस्तै प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, काङ्ग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले चार÷चार, जसपा, लोसपा र जनमतले तीन÷तीन, जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)ले एक–एक र स्वतन्त्रबाट दुई निर्वाचित भएका छन् ।