फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताविरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने चेतावनी दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज मङ्गलबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै यस्तो चेतावनी दिनुभएको हो ।
मन्त्रिपरिषद्मा बसेर वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको विरुद्धमा अभिव्यक्त दिने मन्त्रीप्रति लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण सोध्न आफू गम्भीर भएको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले ‘ मैले प्रत्यक्ष हेरेको वा थाहा पाएको हैन, माननीयज्यूहरूले प्रश्न उठाउनुभयो । मेरै क्याबिनेटको मन्त्रीले सङ्घीयता खारेज गर्नुपर्छ भन्नुभएको कुरा यहाँ आएर थाहा भयो । यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो स्पष्टीकरणको विषय हुन्छ’ — भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल बाहिर बस्ने भए मात्र व्यवस्थाविरुद्ध धारणा राख्न पाइने भन्दै ‘मन्त्रीमण्डल बाहिर गएर आफ्नो कुरा राख्न पाइन्छ । तर, सरकारभित्र बसेर बोल्ने अधिकार नैतिक रूपमा र कानुनी रूपमा हुँदैन । यो स्पष्टीकरणको विषय हो’ भन्दै चेतावनी दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वर्तमान राज्यव्यवस्थाको विरोधी दल हो । राप्रपाले राजसंस्था र हिन्दुराज्य तथा सङ्घीयता खारेजीको माग गर्दैआएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सामेल भएको राप्रपाले सङ्घीय शासन प्रणालीमा रहेर सत्तामा बस्ने र प्रणालीकै विरोध गर्ने दोहोरो चरित्र देखाउँदै आएको छ ।
प्रतिनिधिसभामा १४ सिट रहेको राप्रपा सरकारमा समेत छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेवारीमा रहनु भएको छ । राप्रपाले निर्वाचनको घोषणापत्रमै प्रदेश खारेजी गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।