फाइल तस्वीर
काठमाडौं — आजदेखि शहीद सप्ताह सुरु भएको छ । शहीद शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थान टेकुको पचलीमा स्मृतिसभा आयोजना गरी आजबाट शहीद सप्ताह सुरु गरिएको हो ।

जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गर्दै शासकीय शक्ति जनतामा पुर्‍याउन बलिदान गर्ने शहीदहरुको योगदानको सम्मानमा हरेक वर्ष काठमाडौं महानगरपालिकाको आयोजनामा माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह कार्यक्रम गर्दै आएको छ ।

शहीद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा महानगरप्रमुख एवम् शहीद सप्ताह मूल समारोह समितिका संयोजक बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीसहितले शहीदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै उहाँको योगदानको स्मरण गर्नुभयो ।

वि.सं. १९५० मा बनासरमा जन्मनुभएका शास्त्रीले भारतकै देहरादुनबाट प्रारम्भिक शिक्षा गर्नुभएको थियो । धार्मिक गतिविधिबाट जहानियाँ शासनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मङ्सिर १३ गते इन्द्रचोकमा मानिसलाई भेला गराएर तात्कालिन सरकारको आलोचना गरेको आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो ।

यसैगरी धर्मभक्त माथेमालाई माघ १३ गते र गङ्गालाल श्रेष्ठ तथा दशरथ चन्दलाई माघ १५ गते प्राणदण्ड दिइएको थियो । शहीद सप्ताहको अन्तिम दिन यही माघ १६ गते शान्ति बाटिकाबाट सुरु गरिने प्रभातफेरी लैनचौरस्थित शहीदपार्कमा पुगी ज्ञातअज्ञात शहीदका सम्झनामा स्मृतिसभा परिणत हुने जनाइएको छ ।

कामपाले प्रजातन्त्र प्राप्तिका लागि प्राणदण्ड दिइएका चार शहीदहरुको पूर्णकदको शालिक उहाँहरुले साहादत प्राप्त गर्नुभएकै स्थानमा निर्माण गरिसकेको छ । वि.सं.२०७५ मा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएकामा धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिक २०७६ मा स्थापना गरिएको थियो ।