काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय भूमिकालाई प्रभावकारी बनाउन प्रतिनिधिसभा र प्रदेशसभाको बीचमा अनुभवहरुको आदान–प्रदान हुनुपर्ने बताउनुभएको छ । नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना दिन प्रदान गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेको स्पिकर्स फोरम नेपालका प्रतिनिधिहरुसँग कुरा गर्दै आज उहाँले संसदीय भूमिकालाई प्रभावकारी बनाउन आपसमा अनुभवहरुको आदान–प्रदान हुनुपर्ने बताउनुभएको हो ।
उहाँले प्रदेशसभाले प्रतिनिधिसभाका कारण कतिपय ऐनहरु बनाउन नसकेको र कतिपय प्रदेशमा ऐन बन्न नसकेका कारण माथि अफ्ठ्याराहरु सिर्जना भएको गुनासो आएको भन्दै ती कुराहरूको सम्बोधन गर्न आपसमा मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । सभामुख घिमिरेले ऐन कानुनहरू ठिक समयमा ठिक ढङ्गले बन्नुपर्ने बताउँदै कुनैपनि कानुनको अभावमा जनताको काममा अवरोध हुनु नहुने उल्लेख गर्नुभयो ।
सभामुख घिमिरेले संसदीय राजनीतिलाई राम्रो बनाउनका लागि स्पिकर्स फोरम नेपालको महत्वपूर्ण भूमिका हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले स्पिकर्स फोरम नेपालको स्थापना हुनु नेपाली राजनीतिका लागि राम्रो कामको सुरुवात भएको बताउनुभयो । संस्थाको विकासका निम्ति आफ्नो ठाउँबाट भूमिका खेल्ने उहाँको भनाई छ ।
सभामुख घिमिरेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले सभामुखले प्रदेशका सभामुखहरुसँग छलफल गर्दा आफूहरूलाई पनि समावेश गराउन आग्रह गर्नुभयो । फोरम नेपालका संयोजक शाहीले पूर्व सभामुख तथा पूर्व उपसभामुखको रुपमा आफूहरुले हासिल गरेका अनुभवहरूले आगामी दिनमा सभा सञ्चालनमा सहयोग पु¥याउने बताउनुभयो । संयोजक शाहीले सभामुखले संसद्को गरिमा र महत्वलाई स्थापित गराउने अपेक्षा आफूहरुले गरेको बताउँदै विधायकी कामलाई प्रभावकारी बनाउन जनस्तरमा बहस र पैरवी गर्नु आवश्यक रहेको भन्दै सो कामको नेतृत्व सभामुखबाट हुने विश्वास व्यक्त गर्नुभयो ।
बागमती प्रदेश सभाका पूर्व सभामुख सानुकुमार श्रेष्ठले विगत पाँच वर्षको अवधिमा प्रदेश सभाहरूले गरेका कामको समीक्षा हुनुपर्ने बताउँदै प्रदेशमा बन्न बाँकी रहेका कानुनहरू बनाउनका लागि सङ्घले पनि घच्घचाउनुपर्ने बताउनुभयो ।