फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सल्लाहकारमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गर्नुभएको छ । माओवादी केन्द्रका प्रभावशाली नेता गजुरेललाई प्रधानमन्त्री दाहालले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।

पूर्वमन्त्री गजुरेल सिन्धुलीबाट अघिल्लो प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । यस पटक पनि उहाँ सोही जिल्लाबाट उम्मेदवार बन्न चाहनु भएता पनि जिल्ला पार्टी समितिले उहाँको नाम सिफारिस नगर्दा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न पाउनु भएन । उक्त स्थान युवा नेता लेखनाथ दाहालले टिकट पाएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको थियो ।

निर्वाचनमा टिकट नपाएकोमा पार्टी र नेतृत्वप्रति नै असन्तुष्टि व्यक्त गर्नुभएका गजुरेलले पार्टी कार्यालयमा असहमति पत्रसमेत बुझाउनु भएको थियो । नेता गजुरेललाई पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले आफूलाई सहयोग गर्ने जिम्मेवारी लिन गजुरेललाई आग्रह गर्नुभएको थियो ।

पार्टीभित्र अध्यक्षको कहिले सर्मथक त कहिले आरोचकको रुपमा प्रस्तुत हुनुहुने गजुरेललाई प्रधानमन्त्री प्रचण्ड प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेर उहाँको असन्तुष्टिलाई सम्बोधन गर्नुभएको छ ।