फाइल तस्वीर


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेको छ ।काङग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको आज सोमबार बसेको बैठकले यस्तो माग गर्ने निर्णय गरेको हो ।

बैठकले कुनै पनि कानुनी अड्चन देखाएर राष्ट्रपतिको निर्वाचन पछि सार्न नहुनेबारे सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको काङ्गे प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रपतिको निर्वाचन समयमै गर्नुपर्ने र कुनै कानुनी समस्या भए त्यसलाई समाधान गरी निर्वाचन प्रक्रियालाई अघि बढाउनुपर्ने सम्बन्धमा छलफल भएको प्रवक्ता महतको भनाइ थियो । काङग्रेसले राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा अरू दलको पनि सहयोग लिएर प्रस्तुत हुने दृष्टिकोण राखेको र यसका लागि काङ्ग्रेसले प्रतिनिधिसभामा रहेका अन्य दलहरुसँग पनि सरसल्लाह गर्ने काङ्ग्रेस प्रवक्ता महतले जानकारी दिनुभयो ।

नेपालको संविधानको धारा ६३ मा राष्ट्रपतिको कार्यकाल पाँच वर्ष हुने उल्लेख छ । राष्ट्रपति विद्यादेवी भण्डारी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि सो पदमा निर्वाचित हुनुभएको थियो । यसैगरी राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ४ मा आयोगले राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तिमा एक महिनाअघि निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने उल्लेख छ । यही महिनाको अन्तिम हप्तासम्ममा राष्ट्रपतिको निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।