काठमाडौं — प्रमुख प्रतिपक्षी दलको लागि संसद्मा निवेदन दर्ता गराएको नेपाली काङग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।
आज बिहान बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने र यसका लागि अरू दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय गरेको काङ्ग्रेसका एक नेताले जानकारी दिनुभयो । यसअघि काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काङ्ग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएर शीतल निवास पुग्ने दाबी गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिने बताउँदै आए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले उठाउने उम्मेदवारको पक्षमा राष्ट्रिय सहमति हुनुपर्ने प्रतिक्रिया दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली काङ्ग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने भएको हो । काङ्ग्रेसले यसअघि सभामुख र उपसभामुखमा पनि उम्मेदवार बनाएकोे थियो ।