फाइल तस्वीर

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा जेष्ठ सांसद माननीय पशुपतिशमशेर जबराले आफ्नो पार्टीका तर्फबाट सार्वजनिक पद धारण गरेका नेता भ्रष्टाचारमा संलग्न भए कारबाही गर्ने बताउनुभएको छ । पार्टीको काठमाडौँ निर्वाचन क्षेत्र नं १ द्वारा आइतबार आयोजित बागमती प्रदेशका जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उहाँले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने उद्देश्यले पार्टी प्रदेश र केन्द्रीय सरकारमा सहभागी भएकाले सार्वजनिक पदमा रहेका नेताले जनताको सेवालाई केन्द्रमा राखेर कार्य सम्पादन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

मुलुकमा विकासको बाधक तत्वका रुपमा रहेको भ्रष्टाचारलाई न्यूनीकरण गरी जनतालाई परिवर्तनको अनुभूति गराउने पार्टीका नीति तथा कार्यक्रम रहेको बताउँदै नेता राणाले आर्थिक लेनदेनका विषय मात्र भ्रष्टाचार नभएर ढिलासुस्ती, बिचौलियाको संरक्षण, अख्तियारीको दुरुपयोगलगायत कार्य पनि भ्रष्ट आचरणको रुप भएकाले त्यसतर्फ संवेदनशील हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्रले पञ्चायत कालदेखि सार्वजनिक पद धारण गरेका नेता तथा प्रशासकको सम्पत्ति छानबिन गर्न माग गर्दै पार्टीप्रति जनताको ठूलो विश्वास रहेकाले जनपक्षीय कार्य सञ्चालन गरेर उनीहरूको भरोसालाई कायम राख्नुपर्ने बताउनुभयो ।