फाइल तस्वीर
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । सोनाम ल्होछारको अवसरमा आज आइतबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले ‘आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप र प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जर्गेना हुन नदिने एउटा चेष्टा भइरहेको छ’ भन्दै चिन्ता प्रकट गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले विगतमा ‘सामन्ती, एकात्मक र अधिनायकवादी शासन’ बाट नेपालभित्रै रहेका जातजातीय, भाषा र संस्कृतिमाथि दमन भएको भन्दै ‘एकातिर सामन्ति एकतात्मकताको हस्तक्षेपविरुद्धको लडाइँ अझैं जारी छ भने अर्कोतिर बैदेशिक सांस्कृति हस्तक्षेपका कारणले पनि हामी नयाँ परिस्थितिमा छौं, – भन्नुभयो ।

प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय संस्कृतिको जर्गेना गर्ने दायित्व सबैमा आएको भन्दै हाम्रो संस्कृतिलाई जोगाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।