फाइल तस्वीर
काठमाडौं — प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ । सत्तारुढ दलको साझा उम्मेदवार बन्नुभएकी इन्दिरा आज भएको उपसभामुख पदको निर्वाचनमा विजयी भै उपसभामुख बन्नु भएको हो ।

उपसभामुख पदमा सत्ता पक्ष र सत्ता इतर पक्षका दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । उपसभामुखमा निर्वाचित इन्दिराले १६६ मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसकी सांसद उपसभामुखकी उम्मेदवार मुक्ताकुमारी यादवले ९७ मतमात्र प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको बहुमत मत ल्याएर इन्दिरा राना मगर उपसभामुख पदमा निर्वाचित हुनुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभएको हो । प्रतिनिधिसभाको बैठकमा उपस्थित २६४ मध्ये एक जनाले मत दिनुभएको थिएन । रानामगरको प्रस्तावकमा रास्वपाकी सांसद् सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्थ्यो । त्यस्तै यादवको प्रस्तावकमा नेपाली काङ्ग्रेसका सांसद् बद्रीप्रसाद पाण्डे र समर्थकमा एकीकृत समाजवादीका सांसद्मेटमणि चौधरी र अर्का सांसद् सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्थ्यो ।

प्रतिनिधिसभाको उपसभामुख निर्वाचित इन्दिरा राजनीतिक क्षेत्रमा नयाँ हुनुहुन्छ । गत मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट रास्वपाको प्रतिनिधिसभा सदस्य बन्नुभएको हो । सामाजिक अभियन्ताको रुपमा स्थापित इन्दिराले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको छ ।