फाइल तस्वीर
काठमाडौं — प्रतिनिधिसभाको आज शनिबार बस्ने बैठकले उपसभामुख चयन गर्ने भएको छ । सङ्घीय संसद् सचिवालयको कार्यतालिका अनुसार उपसभामुख चयनका लागि आज दिउँसो १ बजे निर्वाचन हुँदैछ ।
सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् इन्दिरा राना र सत्ता इतर दलको तर्फबाट नेपाली काङ्ग्रेसकी सांसद् मुक्ताकुमारी यादव उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
उपसभामुखकी उम्मेदवार इन्दिराको प्रस्तावकमा रास्वपाकी सांसद् सोविता गौतम भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका कृष्णगोपाल श्रेठ र माओवादी केन्द्रकी नारायणी शर्मा समर्थक रहेका छन् ।
यता सत्ता इतर पार्टीकी उम्मेदवार यादवको प्रस्तावकमा नेपाली काङग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद् बद्री पाण्डे छन् भने समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ल, नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् ।
दुवै उम्मेदवारले हिजो शुक्रबार प्रतिनिधिसभामा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । यस अघि सभामुखको निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार एमालेका सांसद् देवराज घिमिरे निर्वाचित् भएका थिए । उपसभामुखमा पनि सत्ता गठबन्धनकै उम्मेदवार इन्दिरा राना निर्वाचित हुने पक्का छ ।