काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षामान पुन (अनन्त) चिकित्सकको निगरानीमा रहने गरी डिस्चार्ज हुनुभएको छ ।

वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको निगरानीमा रहने गरी उहाँ आज डिस्चार्ज हुनुभएको उहाँको सचिवालयले जनाएको छ ।

माघी मनाउनका लागि रोल्पा पुग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार हेलिकप्टरमार्फत् काठमाडौँ ल्याइएको थियो । चिकित्सकले पर्याप्त आराम गर्न र धपेडी नगर्नसमेत नेता पुनलाई सुझाव दिएको अस्पताल स्रोतले बताएको छ ।