काठमाडौं – सरकारलाई समर्थन दिएको जनमत पार्टीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले सरकारमा ल्याउने प्रयास गर्नुभएको छ । राम्रो मन्त्रालय नपाएकोमा सरकारसँग असन्तुष्ट रहेका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) सँग प्रधानमन्त्रीले आज छलफल गर्नुभएको हो ।
मन्त्रिपरिषद्लाई पूर्णता दिनेक्रममा उक्त पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको र त्यसमा सहमति भएको बताइएको थियो । सरकार विस्तारका क्रममा जनमत पार्टीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै जनमत पार्टी सरकारसँग असन्तुष्ट व्यक्त गर्दै आएको छ ।
सुरुमा विना विभागीय मन्त्री रहेका सो पार्टीका अब्दुल खानलाई माघ ३ गते भएको मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर जनमत पार्टीले असन्तुष्टि जनाउँदै आएपछि मन्त्री बन्नुभएका खानले अहिलेसम्म पदभार स्वीकार गर्नुभएको छैन ।
जनमत पार्टीले थप एउटा मन्त्रालय दिएमात्र खानपानी मन्त्रालय स्वीकार गर्न सकिने सन्देश प्रधानमन्त्री प्रचण्डलाई दिएको छ । जनमतको सन्देशपछि प्रधानमन्त्री प्रचण्डले आफूसँग रहेको वन तथा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमध्ये एउटा जनमतलाई दिने परिस्थिति बन्न सक्ने आश्वासन दिनुभएको बुझिएको छ । हिजो साँझ पनि जनमतका अध्यक्ष डा.चन्द्रकान्त राउत र प्रधानमन्त्री प्रचण्डको बीचमा मन्त्रालयको विषयमा छलफल भएको थियो ।
सो छलफलमा प्रधानमन्त्री प्रचण्डले आइतवारसम्मको लागि समय माग गर्नुभएको बताइएको छ । सरकारमा ल्याउनका लागि लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीको बीचमा कुराकानी भइरहेको र ती पार्टी सरकारमा सहभागी नभए थप एक मन्त्रालय दिनसक्ने बताइएको छ ।
जनमत पार्टीको पहिलो चाहना उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नै भएको भन्दै ती नेताले सो मन्त्रालय पाए अर्को मन्त्रालय नचाहिने बताएका छन् । यदी खानेपानी मन्त्रालयमा जानु पर्ने हो भने थप अर्को मन्त्रालय समेत माग जनमत पार्टीको छ । उसको मागलाई प्रधानमन्त्रीले सम्बोधन गर्न नसके जनमत पाटी गठबन्धनबाट बाहिरिने छ । तीन दिनअघि मात्रै पार्टी अध्यक्ष राउतले सरकारले आफ्नो माग सम्बोधन नगरे गठबन्धनबाट बाहिरिने र मधेसमा आन्दोलन चर्काउने आशयको अभिव्यक्ति दिनुभएको थियो ।