फाइल तस्वीर
काठमाडौं — सङ्घीय संसद्को प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ । सभामुख घिमिरेले आज शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथग्रहण लिनुभएको हो ।
सभामुख घिमिरे प्रतिनिधिसभाको हिजोको बैठकमा काङ्ग्रेस उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुखमा निर्वाचित हुनुभएको थियो । झापा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
शपथग्रहण कार्यक्रमपछि सभामुख घिमिरे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । सभामुख घिमिरे त्यसपछि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पदबहाली गर्नुहुने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
सभामुख चयनका लागि हिजो सम्पन्न भएको निर्वाचनमा सभामुख घिमिरेको पक्षमा १६७ मत परेको थियो । नवनिर्वाचित सभामुख घिमिरे सत्ता गठबन्धन दलको साझा उम्मेदवार हुनुहुन्थ्यो । कुल २७५ सदस्य रहेको प्रतिनिधिसभाको हिजोको बैठकमा २६८ सांसद्हरु उपस्थित रहनुभएकोमा घिमिरेको पक्षमा १६७ मत र विपक्षमा १०० मत खरेको थियो भने एक जना सांसद् तटस्थ बसी मतदान गर्नुभएन ।