काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताउनुभएको छ । आज शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्री दाहालले मिटरब्याजी समस्या समाधानका लागि पहल गर्ने बताउनुभएको हो ।
मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छु, मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ । यसलाई मैले राम्रोसँग बुझेको छु,’ ‘यसपटक तपाईहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु ।’
प्रधानमन्त्री दाहालसँगको भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।