पाँचपोखरी — पालिकाका बासिन्दालाई गुणस्तरीय खाद्यान्न खुवाउने अभियानमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाले लागि पाँचपोखरीको नाकामा जाँचचौकी स्थापना गरेको छ । गाउँपालिकाले २०७९ असोज ५ गतेदेखि दुई कर्मचारी तथा बजार निरीक्षक कर्मचारी राखेर गाउँपालिकाको सूचना केन्द्र खाल्डे खोलाबाट दैनिक पाँचपोखरी थाङ्पाल गाउँपालिकाभित्र व्यापारीले निर्यात गरी ल्याएको खाद्य सामग्रीको उत्पादन मिति र प्रयोग गर्न मिल्ने मिति जाँच गरी दैनिक तथ्याङ्क राख्ने काम गरिरहेको कर्मचारी राजन भुजेलले बताउनुभयो ।
गाउँपालिकाले बजार निरीक्षणसम्बन्धी कार्यविधि, २०७९ गाउँ कार्यपालिकाबाट पास गरी लागू गरिरहेको पालिका अध्यक्ष टासी लामाले बताउनुभयो । आफ्नो पालिकाभित्र बसोबास गर्ने उपभोक्ताले गुणस्तरीय खाद्यान्नको उपयोग गर्न पाऊन् भन्ने यसको मुख्य उद्देश्य रहेको लामाले बताउनुभयो । माथिल्लो भेगमा मिति गुज्रेका सामान होलसेल व्यापारीले पठाउने गरेका स्थानीयवासीले गुनासो गरेका थिए । अब भने मिति गुज्रेका सामान प्रयोग गर्न नपर्ने भएकामा स्थानीय राम श्रेष्ठले खुसी व्यक्त गर्नुभयो ।
मिति हेर्न समस्या रहेका साना गाउँका व्यापारी तथा उपभोक्तालाई होलसेल व्यापारीले म्याज सकिन लागेका खाद्य सामान पठाउने गरेको पाइएपछि पालिकाले यो अभियान सुरु गरेको पालिकाले जनाएको छ । अहिलेसम्म सयौँ किलो म्याद नाघेका सामग्री बरामद गरेको अध्यक्ष लामाले बताउनुभयो ।